काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका–४ स्थित कल्भर्टको ह्युमपाइप भित्र सोमबार विहान बोरामा बाँधिएको अवस्थामा एक जनाको शव फेला परेको छ । बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई बोरामा हाली बोराको मुख सिलाएर फालेको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो । मृतकको पहिचान हुन सकेको छैन ।
मृतकको पाखुरामा आरएन लेखिएको टाटु रहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनु भयो । शव सड्ने अवस्थामा भेटिएका कारण सनाखत हुन समस्या भएको हो । मृतकको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उहाँले बोराबाट शव निकालेर पोस्टमार्टमको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताउनु भयो ।