आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत्‌ सेवा पुग्ने: मन्त्री भुसाल

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी २ वर्षभित्र सबै नेपालीका लागि विद्युत्‌ सेवा पुग्ने बताउनु भयो। सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री भुसालले आगामी २ वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत्‌ सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताउनु भएको छ ।

आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत्‌ खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत्‌ सेवा पाएको मन्त्री भुसालको दाबी छ। सिँचाइमा प्रयोग हुने विद्युत्‌मा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट २ रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको भुसालले जानकारी दिनुभयो।

‘आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत्‌ सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिनेछ। मैले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत्‌ खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत्‌ सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु। देशभरका झन्डै ५२ लाख ग्राहक मध्ये करिव २६ लाख ग्राहकले यो सुविधा पाएका छन्,ु भुसालले भन्नुभयो।

अधिकांश वस्तु तथा सेवाको मूल्यवृद्धि विद्युत्‌को भने दुईपटक गरी २० प्रतिशत मूल्य घटेको मन्त्री भुसालले उल्लेख गर्नुभयो। उहाँले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७०० देखि १००० मेघावाट विद्युत्‌ नेपालको विद्युत्‌ प्रणालीमा थपिँदै जाने बताउनु भयो। यसरी विद्युत्‌ थपिँदा आगामी २ वर्षका सुख्खा याममा समेत नेपालको विद्युत्‌ले नै आन्तरिक माग धान्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *