काठमाडौं। काठमाडौं महानगरपालिकाका विभिन्न वडामा हैजाका बिरामी बढ्दै गएपछि महामारीको आशंका गरिएको छ । त्यसैले जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले मंगलवारदेखि २४ घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको हो ।
नागरिकलाई जनस्वास्थ्य सम्बन्धी कुनै समस्या परे ११८० नम्बरमा फोन गरेर जानकारी लिन सकिने काठमाडौं महानगरका मेयर बालेन शाहले बताउनुभयो । जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने मेयर शाहले बताउनुभयो । उहाँले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल पनि गर्नुभएको छ ।
हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।
कामपाले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भइसकेको छ ।