काठमाडौं। अनलाइनमार्फत जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निशान आचार्यलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १०८ थान मोबाइल, तीन थान ल्यापटप, पाँच थान कम्युटर र नगद एक लाख ४५ हजार ७५ रुपैयाँसहित पक्राउ गरेको हो । फरार कुलदीप पाठकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।