देशभर मनसुनी वायुको प्रभाव सक्रिय

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसविद् वरुण पौडेलका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा अति भारी वर्षा हुन सक्छ। नारायणी, कर्णाली, बबई, बागमती, कोसी, गण्डकी नदीले जल सतह पार गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सो क्षेत्र भएर बहने साना नदीमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई बुधबार बेलुकासम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी कैलाली,कञ्चनपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएको छ। कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने, कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको, नदीतटीय होचा डुबान भइरहने क्षेत्रमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यता जाजरकोट र आसपासको क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us