काठमाडौ । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरभित्र सङ्घ र प्रदेशको निर्वाचन हुने प्रष्ट पारेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी समेत गर्नुभयो ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पार्नुभयो । आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।