काठमाडौं। अमेरिकी गायक आर केलीलाई यौन शोषणको आरोपमा अदालतले ३० वर्ष जेल सजाय सुनाइएको छ। उनको पूरा नाम रोबर्ट सिल्भेस्टर केली हो। केलीले महिला र बालबालिकालाई झन्डै दुई दशकसम्म यौन शोषण गरेका थिए।
उनीमाथि लामो समयदेखि महिला र बालबालिकामाथि यौन शोषण गरेको आरोप लाग्दै आइरहेको थियो। भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार यौन दुर्व्यवहारसहित नौवटा मुद्दामा दोषी ठहरिएपछि उनलाई ३० वर्ष जेल सजाय सुनाइएको हो।
उनलाई सजाय सुनाउने क्रममा न्यायाधीश एन डोनेलीले भने, ‘तपाईंले उनीहरूको आशा र सपनाको फाइदा उठाउनुभयो, किशोरहरूलाई आफ्नो घरमा थुनेर राख्नुभयो। तपाईं एक प्रतिष्ठित व्यक्ति हुँदाहुँदै पनि उनीहरूलाई बलात्कार र कुटपिट गर्नुभयो, उनीहरूलाई परिवारबाट अलग गर्नुभयो र अरुसँग पनि यौन सम्बन्ध राख्न बाध्य गराउनु भयो।’
उनले पीडितहरूलाई होटलको कोठा वा उनको रेकर्डिङ स्टुडियोमा थुनेर राखेको खुलासा भएको छ। उनीविरुद्ध ४५ जनाले बयान दिएका थिए। केली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए। सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए।