काठमाडौं। प्रदेश १ को सबैभन्दा ठूलो स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) ले चार दिनपछि बिमाबाट हुने उपचार सेवा बन्द गर्ने भएको छ। स्वास्थ्य बिमा बोर्डले बिमाबाट गरेको उपचारको खर्च नपठाएकाले अर्को सूचना जारी नहुँदासम्म बिमा सुविधा बन्द गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।
स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई प्रदान गर्नुपर्ने सम्पूर्ण दाबी रकमको भुक्तानी यथाशीघ्र उपलब्ध नगराए स्वास्थ्य बिमा गरेकालाई प्रतिष्ठानले बहिरंग, आकस्मिक तथा अन्तरंग अन्तर्गतका कुनै सेवा नदिने निर्णय गरेको हो। प्रतिष्ठानले बोर्डबाट साढे ३३ करोड रुपैयाँ पाउनुपर्ने तर नपाएकाले बाध्य भएर बिमा सुविधा बन्द गर्न लागिएको प्रतिष्ठानकी प्रवक्ता डा. कृष्ण पोखरेलले बताइन्।
उनले बिमा सुविधाबाट उपचार गराएको रकम नपठाएका कारण खर्च धान्न नसकेर बिमा सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्। प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बिमामार्फत सेवा दिइरहेको छ। सरकार र स्वास्थ्य बिमा बोर्डलाई पटकपटक लिखित अनुरोध तथा बिमा बोर्डमा गई अनुरोध गर्दा पनि बेवास्ता गरिको प्रवक्ता पोखरेलले बताइन्।
बिमाको समस्या समाधान गर्न २०७९ जेठ २० गते प्रधानमन्त्री कार्यालयबाट आएका प्रतिनिधिहरूसँग समेत यस विषयमा प्रतिष्ठानले कुरा राखेको थियो। सो छलफलमा स्वास्थ्य बिमा बोर्डका पदाधिकारी समेत सहभागी थिए। छलफलमा चाँडै समस्या समाधान हुने प्रतिबद्धता जनाइएको भए पनि अहिलेसम्म रकम नपठाएकाले बाध्य भएर स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गर्नुपरेको प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले बताए।
स्वास्थ्य बिमा बोर्डबाट प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै दाबी प्रक्रियालाई सहजीकरण गर्नुको साटो प्रतिष्ठानले गरेका दाबीलाई एकतर्फी रूपमा विभिन्न सर्त राखिएको तथा बन्देज लगाइएको गिरीको भनाइ छ। उनले भने, ‘हामीले गरेका दाबीहरूलाई कम भ्यालुएसन गर्ने तथा बेवास्ता गर्ने कार्य गरिएको छ। यसले उपचार गर्न प्रतिष्ठानमा आउने समस्या परेको छ।’