काठमाडौं। बिहिबार बसेको बैठकबाट वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ। प्रतिपक्ष दलको अवरोधबिच बजेट बहुमतबाट पारित भएको हो। यस्तै, प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले विनियोजन विधेयक २०७९ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। आजको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ माथि कार्यान्वयन गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत भएको थियो। यस्तै, विनियोजन विधेयक २०७९को दफा २ देखि १० सम्मका दफाहरु तथा सो सँग सम्बन्धित उपदफाहरु, अनुसूची १ र २ विधेयकको अंग बनोस भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको थियो।
बैठकमा प्रदेशसभा सदस्य रमेश पौड्याल, सुरेन्द्रराज गोसाई, सिर्जना सैंजू, शोभा शाक्य, रिना गुरूङ, गोमा भुर्तेल लगतायतका सांसदहरुले पेश गरेको खर्च कटौतीसम्बन्धी प्रस्ताव भने बहुमतले अस्विकृत भएको थियो।
प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट संसदमा पेस गर्नुभएको थियो। प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १३ अर्बले बढाएर ल्याएको छ।