नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्छन्

काठमाडौं । नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको प्रहरी प्रधान कार्यलयको पछिल्लो ३४ महिनाकोे तथ्यांकले देखाएको छ । पछिल्ला दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको १० महिना गरी ३४ महिनामा आत्महत्याका १९ हजार १६९ घटना भएका छन् । सो अवधिका एक हजार ३० दिनमा दैनिक १८ जना बढीले आत्महत्या गरेको देखिन्छ ।

आर्थिक वर्ष ०७६/७७ मा ६ हजार ७४१ आत्महत्याका घटना भएका छन् । जुन प्रतिदिन १७ जना हुन आउँछ । नेपालमा आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी छन् । आर्थिक वर्ष ०७६/७७ मा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेका छन् । यो वर्ष ५ हजार १४ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने ११ सय ३६ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७७/७८ मा आत्महत्याको संख्यामा वृद्धि भएको देखिन्छ । यो वर्ष सात हजार ११७ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार यो प्रतिदिन १९ जना बढी हुन आउँछ ।

यो वर्ष पनि झुन्डिएरै ५ हजार ७२० जनाले ज्यान फालेका छन् । यसबाहेक विष सेवन गरेर १ हजार २७६ जनाले आत्महत्या गरेका छन् भने पानीमा हाम फालेर, आगो लगाएर, हतियार र औजारको माध्यमबाट पनि आत्महत्या गर्ने गरेको पाइन्छन् । यस्तै, चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा ५ हजार ३११ जनाले आत्महत्या गरेका छन् । यो प्रतिदिन १७ जना हुन आउँछ ।

चालु आर्थिक वर्षमा झुन्डिएर चार हजार ४४० जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर ७ सय ८४ जनाले आत्महत्या गरेका छन् । प्रहरी अधिकारीहरूका अनुसार नेपाल विश्वमै बढी आत्महत्या हुने देशहरूमध्ये पर्छ । आर्थिक वर्ष ०७७(७८ मा आत्महत्या गर्नेको संख्या बढ्नुको पछाडि कोरोना महामारीले उत्पन्न गरेका कारणहरू पनि रहेको प्रहरी अधिकृतहरू बताउँछन् । व्यापारमा घाटा, बैंकको ऋणलगायत कारणले कतिपयले आत्महत्याको बाटो रोजेको देखिन्छ ।

प्रहरी अधिकारीहरूका अनुसार धेरैजसो आत्महत्यामा प्रेममा धोका, मानसिक तनाव, पारिवारिक तनाव, बेरोजगारी, कमजोर आर्थिक मुख्य कारण रहेको देखिन्छ । पछिल्लो समय नेपालमा आत्महत्या दुरुत्साहनका घटनासमेत अगाडि आउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *