सिन्धुली। सिन्धुली जिल्लाको मरिण गाउँपालिका-२ रातामाटाका नरबहादुर अस्तानीले सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।
उनले गत जेठ ७ र १३ गते गरी एक सातामा २ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ जानकारी दिनुभयो । एक सातामै दुईपटक सगरमाथाको आरोहण गरेर विश्वकिर्तिमान राख्ने अस्तानीलाई मरिण गाउँपालिकाले सम्मान समेत गरेको छ । अस्तानीलाई गाउँपालिकाको तर्फबाट ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष प्रख्यातको भनाइ छ ।
‘सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्वमै किर्तिमान कामय गरेका अस्तानीले जन्मुभूमिको समेत उल्लेखनीय नाम राख्न सफल भएपछि गाउँपालिकाले थप हौसलास्वरुप सम्मान गरेको हो,’ उहाँले भन्नुभयो ।
सम्मान कार्यक्रममा अस्तानीले आफू विद्यालयमा अध्ययन गर्दा देखिनै सगरमाथा आरोहण गर्ने सपना बोकेकाले सफलता प्राप्त गरेको बताए । ‘मैले विद्यालयमा पढ्दा देखिनै एकदिन सगरमाथ चढ्छु भन्ने सपना बोकेको थिए । ११ वर्षको मेहेनत पछि सफलता हाँसिल गरेको छु,’ उनले भने ।