काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानुन विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ। प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजलहरु हटाउने भएको हो।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिइ दुर्घटना निम्त्याएको पाइएपछि प्रहरीले हटाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए। त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ ।
नेपालको कानुन विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अश्लिल र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृत्ति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।