काठमाडौं। जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। पश्चिमी जापानको नारा सहरमा शुक्रबार शिन्जो आबेमाथि यो घातक हमला भएको हो। आबे सडकमा भाषण गरिरहेको बेलामा आक्रमणकारी आबेको धेरै नजिकै गएर गोली हानेका थिए।
गोली लागेपछि पूर्व प्रधानमन्त्री रगत बगेर ढलेका थिए। आक्रमण हुँदा शिन्जो आबेले एउटा सानो सार्वजनिक सभालाई सम्बोधन गरिरहेका थिए। सो घटनामा गोली हान्ने व्यक्तिको बारेमा अहिले प्रहरीले जानकारी दिएको छ। आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ। उनले आबेलाई पछाडिबाट दुई गोली हानेका थिए।
शिन्जो आबेले भाषण सुरु गरेलगत्तै आक्रमणकारीले उनीमाथि दुईवटा गोली हाने । दोस्रो गोली लागेपछि आबे भुइँमा ढले। त्यसपछि कार्यक्रममा उपस्थित मानिसहरूले उनलाई सीपीआर दिने प्रयास गरे। आबे हाल अस्पतालमा भर्ना छन्। आक्रमणकारी गोली हानेपछि पनि भाग्ने प्रयास गरेनन्। गोली हानेपछि उनी त्यहीँ ठाउँमा उभिइरहे। त्यसपछि नजिकैका मानिसहरुले उनलाई प्रहरीसमक्ष बुझाए।