काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगामी चरित्रका नमूना भएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली परिवर्तनका वाहक नभएको बताएका हुन् ।
साथै आफूहरु देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको उनले बताए ।
‘हामी देश र जनतालाई केन्द्रविन्दुमा राखेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छौं,’ उनले भने, ‘केपी ओली परिवर्तनको वाहक होइनन् । प्रतिगामी चरित्रका नमूना हुन् ।’
त्यसैगरी एकीकृत समाजवादी देशव्यापी रुपमा फैलिएको उनले बताए । गोरखा र धादिङका कार्यक्रमको स्मरण गर्दै अध्यक्ष नेपालले पार्टीमा उत्साह देखिएको दाबी गरे । जनताले नेकपा एस बाट ठूलो अपेक्षा गरेका बताउँदै अध्यक्ष नेपालले जनताको आशामा इमानदारिता, निष्ठा र समपर्णको भावनाले अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा दोलखा विगुका ६० भन्दाबढी युवा एमाले र माओवादी केन्द्र परित्याग गरी नेकपा एस मा प्रवेश गरेका छन् । विगु गाउँपालिका वडा नम्बर ६ र ७ का युवाहरुलाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका छन् ।
साथै ओली सबै ठाउँमा पराजित भइसकेको उनले दाबी गर्दै एमाले परित्याग गरेर नेकपा एस मा प्रवेश गर्नेको लहर चलेको उनले बताए । । ओलीको गल्ति स्वीकार गर्न नसक्ने प्रवृत्तिले उनलको अधोगति सुरु भएको अध्यक्ष नेपालले बताए ।