काठमाडौं। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई एक पत्र पठाउँदै ट्वीटर कम्पनी खरिद नगर्ने घोषणा गरेका छन् । मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौता भंग गरेको घोषणा गरेका हुन् । उक्त पत्रमा खरिद सम्झौताका विभिन्न प्रावधानहरू उल्लंघन भएको पनि दाबी गरिएको छ ।
शुक्रबार मस्कको टिमले ट्वीटरलाई लेखेको पत्रमा ट्वीटरले सम्झौता विभिन्न प्रावधानहरूको भौतिक उल्लंघन गरेको हुँदा खरिद सम्झौताबाट पछि हट्ने निर्णय गरिएको दाबी गरिएको छ ।
मस्कले ट्वीटरमा रहेका फेक अकाउन्टहरूको बारेमा प्रष्ट जानकारी माग गरेको तर ट्वीटरले त्यो उपलब्ध नगराएको विषयलाई सम्झौता भंग गर्ने प्रमुख आधार मानिएको छ । केही समयअघि एलन मस्कले ट्वीटरमा २० प्रतिशत फेक तथा स्पाम अकाउन्ट भएको दाबी गरेका थिए । जबकि यो संख्या ट्वीटरले दाबी गरेको ५ प्रतिशतभन्दा ४ गुणा धेरै हो । ट्वीटरले फेक तथा स्पाम अकाउन्टको यथार्थ विवरण नदिएमा कम्पनी खरिद नगर्ने मस्कले लामो समयदेखि बताउँदै आएका थिए ।