रुस–युक्रेन युद्धले भारतको अर्थतन्त्र पनि समस्यामा परेको छ । कोरोना महामारीका कारण आर्थिक वर्ष २०२१र०२२ मा ६ दशमलव ६ प्रतिशतले घटेको भारतीय अर्थतन्त्र यो वर्ष नौ दशमलव दुई प्रतिशतले बढ्ने अनुमान थियो । तर भारतमा पेट्रोलियम पदार्थ र कृषि सामग्री आपूर्ति गर्ने देशहरू रुस र युक्रेनबीच युद्ध हुँदा अर्थतन्त्रको वृद्धि दर कम हुने सम्भावना बढेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
रुस–युक्रेन युद्धका कारण भारतमा खाने तेल र पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्धनको भाउ बढ्दा त्यसको असरले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएको छ । प्रतिदिन ५५ लाख ब्यारेलसम्म पेट्रोलियम पदार्थ खपत गर्ने भारत विश्वको तेस्रो ठूलो उपभोक्ता हो ।कोरोना महामारीबाट पीडित अर्थतन्त्र सुधार हुनै लाग्दा सुरु भएको रुस–युक्रेन युद्धले भारतीय जनसङ्ख्याको ठूलो हिस्सा घट्दो आम्दानी र बढ्दो जीवन लागतको सामना गर्न बाध्य भएको छ ।
भारतले आयात गर्ने सूर्यमुखी तेलको ९० प्रतिशत रुस र युक्रेनबाट आयात हुन्छ । अहिले भारतमा खाने तेलको भाउ बढेको छ । यस्तै डीएपी मल बनाउन प्रयोग हुने पोटास आपूर्ति गर्ने रुस युद्धमा होमिँदा भारतमा डीएपी मलको अभाव सुरु भएको र यसले भारतमा समग्र कृषि उत्पादनमा समस्या हुने स्वतन्त्र कृषि नीति विश्लेषक इन्द्रशेखर सिंहलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।