काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ। साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद बैठकले संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने पनि थापाले बताउनु भयो।
थापाका अनुसार मंसिर पहिलो साता चुनाव हुनेछ। ‘साउन ४ वा ५ मा मन्त्रिपरिषदले निर्वाचनको मिति घोषणा गर्नेछ। मंसिर ४ वा ५ मा चुनाव हुन्छ,’ थापाले आज ललितपुरमा आयोजित कार्यक्रममा भन्नुभयो।
थापाले मतदाता नामावलीमा नाम लेखाउन बाँकी रहेकाले अब एक साताभित्र नाम लेखाउनुपर्ने बताउनु भयो। उहाँले नेता तथा कार्यकर्तालाई निर्वाचन आयो भन्ने हिसावले अब खट्न पनि आग्रह गर्नुभएको थियो।