काठमाडौं। नेपाललाई भारत सरकारले प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु सहयोग गरेको छ। शुक्रबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपद्जन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो।
भारतले ३ हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्स लगायतका विपद्का बेला प्रयोगमा आउने विभिन्न सामग्री हस्तान्तरण गरेको छ।हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेको निरन्तर सहयोगको अपेक्षा गरेको बताउनु भयो।
उहाँले भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले सहयोग महत्वपूर्ण रहेको भन्दै नेपाल र भारत सरकारबीचको सम्बन्ध सुमधुर रहेको बताउनु भयो।
उहाँले भन्नुभयो ,‘नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटनाहरुको सामना गरिरहेका छौँ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ। भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले पहल्यिैदेखि सहयोग गर्दै आएको छ। प्राकृतिक विपद्का लागि क्षमता विकासमा पनि भारतले सहयोग गरिरहेको छ।’ त्यस्तै, नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकोले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताउनु भयो।
उहाँले भन्नुभयो ,‘नेपाल र भारतमा वर्षायाममा धेरै क्षति पुग्छ। नेपालले सहयोग मागेपछि हामीले नेपाललाई धेरै सहयोग गर्यौँ। भारतले नेपाललाई सधैँ सहयोग गरिरहेको नै छ। प्राकृतिक विपद्को सामना गर्नु नेपाल र भारतको विकासको साझेदारीको एउटा महत्वपूर्ण कुरा हो। नेपालसँग भविष्यमा पनि मिलेर भारत प्राकृतिक विपद्का सामना गर्न चाहन्छ। यसको लागि जे क्षमता विकास गर्नसक्छौँ भारतले गर्नेछ।’ राजदुत श्रीवास्तवले विपद्को सामना गर्नको लागि आवश्यक क्षमता विकास गर्नपनि भारतले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।