काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताउनुभएको छ ।
शनिबार भारत नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यालयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताउनुभयो ।
अध्यक्ष दाहालले करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्याउनुभयो । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पार्नुभयो ।
‘‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो । दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो ।,’’ अध्यक्ष दाहालले भन्नुभयो, ‘‘कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई–तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’’