काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका वडा नं २ बाट निर्वाचित वडाअध्यक्ष छिरिङ ग्याल्बो लामा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लामालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रवेश गराउनुभएको हो ।
लामो समयदेखी सिन्धु एमालेको राजनितिमा सक्रिय लामा २०७४ सालको चुनावमा हेलम्बु गाँउपालिमा अध्यक्ष, उपाध्यक्ष सहित ६ वडा नेपाली काङ्ग्रेस जित्दा उहाँले वडा नं २को वडाअध्यक्ष जित्नुभएको थियो।
उहाँ नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य समेत हुनुहुन्थ्यो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष नवराज पौडेल, केन्द्रिय सदस्य तथा मेलम्ची नगर उपमेयर भगवती नेपाल, सिन्धुपाल्चोक जिल्ला सचिवालय सदस्य युवा नेता रबि भण्डारी समेत उपस्थित हुनुहुन्थ्यो।
यसैगरी केही हप्ता अघि मात्रै नेकपा एमाले परित्याग गरी बलेफी गाँउपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।
पछिल्लो समय सिन्धुपाल्चोक जिल्लामा नेकपा एमालेमा ब्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै ठूलो संख्यामा नेता कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन्। साथै एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको संख्या पनि बढ्न थालेको छ ।