सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

काठमाडौं। सुडानको खार्तोममा ब्लु नाइल प्रदेशमा भएको जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ । अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ ।

सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा पनि ६५ जनाको मृत्यु भएको उक्त दैनिक पत्रिकाले जानकारी दिएको छ । सो दङ्गामा परेर अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका यहाँका एक सुरक्षा समितिले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

झडपका क्रममा कैयौं पसलहरु क्षतिग्रस्त भएका छन् भने केही घरमा आगजनी पनि गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । आइतबारसम्म सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेको जनाएका छन् भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।

सुरक्षा समितिले घटनास्थलमा कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु लगाइएको क्षेत्रमा मानिसहरुलाई आवतजावत र भिडभाड गर्न निषेध गरिएको छ । स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us