गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ३७ गैँडा मरे

काठमाडौं। गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणगरि ३७ गैँडा मरेका छन्। उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिनुभयो। स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशङ्का रहेको छ। अर्को एक भने चोरीसिकारीले मरेको पुष्टि भएको छ। मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको उनले बताए। मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यी गैँडा मरेका हुन्।

बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एकै ठाउँमा धेरै गैँडा हुँदा एकापसमा जुध्ने गरेको बताइन्छ। ९३२ वर्गमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ। सो क्षेत्रभित्र ४२५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ। पछिल्लो समय यी घाँसे मैदान नासिँदै गएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us