एजेन्सी । श्रीलंकाली सेनाले सरकारविरोधी प्रदर्शनकारीलाई धरपकड गर्दै कोलम्बोस्थित राष्ट्रपति कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सेनाले प्रदर्शनस्थलमा बनाइएका टेन्ट पनि भत्काइदिएको छ । साथै केही प्रदर्शनकारी नेतालाई पनि उसले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रधानमन्त्रीको कार्यालयअगाडि टेम्पल ट्रीजबाट प्रदर्शनकारी हटेपछि सेनाले राष्ट्रपति सचिवालय आफ्नो नियन्त्रणमा लिएको हो । सेनाको धरपकडमा केही प्रदर्शनकारी घाइते भएको पनि अल जजिराले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघले शपथ लिएको केही घण्टामै सेनाले कारबाही सुरु गरेको हो । हप्तौँ लामो प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष मुलुक छाडेर भाथेका थिए । त्यसपछि संसद्मा भएको निर्वाचनमा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका हुन् । विक्रमासिंघले शुक्रबार नयाँ प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ ।
राजापाक्षे परिवारप्रति मात्र नभएर प्रदर्शनकारी विक्रमासिंघेप्रति पनि रुष्ट छन् । विक्रमासिंघले प्रदर्शनकारीमाथि कारबाही हुन सक्ने संकेत पनि गरेका थिए । केही प्रदर्शनकारीले भने उनलाई एक पटक मौका दिनुपर्ने बताएका छन् ।
चरम आर्थिक आर्थिक संकट उत्पन्न भएपछि श्रीलंकामा देशव्यापी प्रदर्शन चर्केको थियो । जसका कारण प्रधानमन्त्री महिन्दा राजपाक्ष राजीनामा दिन बाध्य भएका थिए । त्यसलगत्तै तत्कालीन राष्ट्रपति गोटावाया राजपाक्षले विक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर विक्रमासिंघे राजपाक्ष पक्षीय नेता भएकाले उनले पनि राजीनामा दिनुपर्ने प्रदर्शनकारीको माग छ । उनको निजी निवासमा आगजनी गरेका प्रदर्शनकारीले सरकारी निवाससमेत कब्जा गरेका थिए । यद्यपि विक्रमासिंघेले त्यस्ता मागको बेवास्ता गर्दै आएका छन् ।
७३ वर्षीय विक्रमासिंघे ६ पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका छन् । ६ पटक नै संसद्मा विपक्षी दलको नेता भइसकेका छन् । राष्ट्रपति पदका लागि भने यसअघि उनी दुई पटक पराजित भएका थिए । कानुन व्यवसायीबाट राजनीतिमा प्रवेश गरेका विक्रमासिंघे ४५ वर्षयता सांसद छन् । सन् १९९४ देखि भने उनी युनाइटेड नेसनल पार्टीका प्रमुख छन् ।
राष्ट्रपति निर्वाचित भएपछि बोल्दै विक्रमासिंघेले देश निकै कठिन अवस्थामा रहेको बताए । उनले देशको हितका लागि सबै मिलेर काम गर्नुको विकल्प नभएको भन्दै राजनीतिक प्रतिस्पर्धीहरूको समेत मन जित्ने प्रयास थालेको जनाइएको छ ।