नागरिकता विधेयक देशकाे हितमा छैन: प्रेम सुवाल

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीलाई विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने बताउनुभएकाे छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृतिबारे लिखित र अन्तर्वार्ता लिनुपर्ने र परीक्षा उत्तिर्ण गरेमा नेपालको कृत्रिम नागरिकता दिनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभयाे।  उहाँले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताउनुभयाे। नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उहाँकाे भनाइ छ।

‘नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन । सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ । र यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ’, सांसद सुवालले भन्नुभयाे ।

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उहाँको भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उहाँले भन्नुभयाे।

जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानविन गरी खारेज गर्नुपर्ने उहाँले बताउनुभयाे । सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *