काठमाडौं । बहुप्रतिक्षित नागरिकता विधेयक पारित भएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि छलफल गरेर पारित गरिएको हो ।
पारितका लागि गृहमन्त्री बालकृष्ण खाँणले राखेको प्रस्ताव संसदको बहुमतबाट पारित भएको हो । विधेयकमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधान राखिएको छ ।
विधेयकमा एनआरएनएलाई राजनीतिक अधिकारबाहेकका अन्य अधिकार दिनेगरी नागरिकता दिने प्रावधान राखिएको छ । उनीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ ।
बैठकमा ४५ जना सांसदले विधेयकमा संशोधनको प्रस्ताव गरेका थिए । केहीले संशोधन प्रस्ताव फिर्ता लिए भने बाँकी सबैको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।