काठमाडौं। नेपाल खुद्रा व्यापार संघले तय गरेको नयाँ मूल्य सूची तुलना गर्दा पछिल्लो तीन वर्ष अवधिमा सबै प्रकारका खानेतेलको मूल्य करिब दोब्बरले बढेको देखिन्छ ।
वि.सं. २०७६ साल फागुनमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २७० रुपैयाँ थियो । २०७८ फागुनमा भुटेको तोरीको तेलको मूल्य लिटरमा १३० रुपैयाँले बढेर ४०० रुपैयाँ पुगिसकेको छ ।२०७६ फागुनमा १७० रुपैयाँ प्रतिलिटर रहेको काँचो तोरी तेलको मूल्य २०७८ अहिले ३८५ र १५० रुपैयाँ प्रतिलिटर रहेको भटमासको तेलको मूल्य अहिले २७० रुपैयाँ पुगेको छ । २०७६ फागुनमा १६० रुपैयाँ प्रतिलिटर रहेको सूर्यमुखी तेलको मूल्य अहिले २९० रुपैयाँ पुगेको छ ।
खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार उद्योगबाटै मूल्य बढेर आएकाले तेलको खुद्रा मूल्य बढिरहेको बताउँछन् । खानेतेल उत्पादन गर्ने उद्योगीले नै मूल्य बढाएर पठाएकाले बिक्री मूल्य बढिरहेको तुलाधरको दाबी छ ।
‘उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा खानेतेलको मूल्य बढेको भन्दै यता पनि बढाइरहेका छन् । उता बढ्नासाथ यता बढाइहाल्छन्,’ उनले भने, ‘तर, उद्योगीहरूले एकपटकमा कम्तीमा दुई महिनासम्म मौज्दात राख्ने गरी आयात गर्छन् ।’ त्यसरी गरिएको आयातबाट निकालिएको तेलको मूल्य पनि अन्तर्राष्ट्रिय बजारलाई बहाना देखाउँदै बढाउने गरेको उनको भनाइ छ ।
नेपालमा युक्रेन, इन्डोनेशिया, मलेसिया, ब्राजिल, अर्जेन्टिना र भेनेजुयला लगायत देशबाट खानेतेल आउँछ । यी मध्ये पनि युक्रेनबाट यसअघि सबैभन्दा धेरै कच्चा तेल आयात हुने गर्थ्यो । तर, रुसले आक्रमण गरेपछि युक्रेनबाट तेल आयात ठप्प छ । युक्रेन विश्व बजारमा माग हुने खानेतेल पूर्ति गर्ने प्रमुख राष्ट्र रहिआएको थियो ।