एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । हालसम्म मङ्कीपक्स ७५ देशमा फैलिसकिएको छ ।
यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको सार्वजनिक भएको हो ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार, विश्वभर १६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन् । मङ्कीपक्सका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
डा टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन ।
तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै त्यो अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको उहाँले बताउनुभयो । “डब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ, “डा टेड्रोसले भन्नुभयो ।