काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गर्ने नयाँ पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ । उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद अध्यक्षको जिम्मेवारीबाट हटाएपछि उहाँले नयाँ पार्टी गठनको तयारी थालनी गर्नुभएको हो ।
उहाँले नयाँ पार्टी गठन गरेर जानेबारे आफूनिकट नेताहरूसँग केही दिनदेखि छलफललाई तीव्र बनाउनुभएको छ । यसअघि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राख्नुभएका भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लाग्नुभएको हो ।
नेपाल समाजवादी पार्टी केही दिनभित्र निर्वाचन आयोगमा दर्ता हुने नेतृ हिसिला यमीले जानकारी दिनुभयो । भट्टराईले आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गर्नुभएको छ । तीन जना अध्यक्ष रहने गरी पार्टी गठनको तयारी भए पनि को को अध्यक्ष हुने भन्नेबारे भने टुंगोमा पुगिनसकेको उहाँले बताउनुभयो ।
स्रोतका अनुसार निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर जाने सम्भावना बढी छ । उक्त पार्टी भट्टराई निकट एक पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा आयोगमा दर्ता भएको थियो। पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ। खुलेको एकल आँखा चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो।
चुनाव चिन्ह अरु पार्टीले नलैजाऊन् भनेर पार्टी दर्ता गरिराखेको बताइएको छ । उक्त पार्टी गत फागुनमा निर्वाचन आयोगमा दर्ता भएको थियो । लामिछानेका अनुसार त्यही पार्टीको नाम परिवर्तन गरेर भट्टराईले नयाँ पार्टी गठन गर्न लाग्नुभएको हो ।