एक सातादेखि थुप्रिएको महानगरपालिकाको फोहोर विहीवारबाट उठ्ने

काठमाडौं। विगत एक सातादेखि थुप्रिएको काठमाडौँ महानगरपालिकाको फोहोर विहीवारबाट पुनः उठ्ने भएको छ । उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोलको सडक जीर्ण भएपछि फोहोर ढुवानी प्रभावित भएको थियो ।

१२ गते विहीबार विहान ६ बजेदेखि फोहोरमैला ढुवानीका लागि सवारी साधन आउने भएकोले सवारीसम्म फोहोर पुर्याउन सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा बुधवार जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो । विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो । छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो ।

त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो । प्रमुख शाहको अध्यक्षतामा गठित समितिको सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली हुनुहुन्छ । महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध दोहोर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *