काठमाडौं। प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिर वरपर आज एक कार्यक्रमकाबीच खाँदबारी नगरपालिका, काठमाण्डौ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोपिएको छ ।
वृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाद्वारा संयुक्त रुपमा वृक्षारोपण गर्नुभएको हो ।
केही दिन अगाडि खाँदबारी नगरपालिकाका मेयर थपलिया र काठमाण्डौ महानगरका मेयर शाहबीच भेटघाटपछि एकआपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति भएको थियो । भेटघाट पछि नै पशुपति क्षेत्रमा सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोप्ने कार्यक्रम तय भएको र अन्य विभिन्न कार्यक्रमहरु समेत सहकार्यमा गर्दै जाने खाँदबारी नगरपालिकाका मेयर थपलियाले बताउनुभयो ।
पशुपति क्षेत्रभित्र रुद्राक्षका बिरुवा रोप्नका लागि खाँदबारी नगरपालिकाले एक लाख रुद्राक्षका बिरुवा उपलब्ध गराउने मेयर थपलियाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाण्डौ महानगरपालिकाका मेयर शाहले एकअर्का बीच सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभएको छ।