काठमाडौं। बाँदरले अन्नबाली सखाप पार्न थालेपछि खोटेहाङ गाउँपालिका–४ बडकादियाले र वडा नम्बार ७ खोटाङ बजारका किसानलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ । वडा कार्यालयले युपिभिसी पाइपबाट निर्माण गरिएको बन्दुकको जस्तो ठूलो आवाज आउने उपकरण खरिद गरेर वितरण गरेको हो ।
बिहीबार बडकादियालेका १० जना र खोटाङ बजारका १० किसानलाई पड्काएर बाँदर धपाउने उपकरण वितरण गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा दुई हजार आठ सयका दरले खरिद गरेर ल्याएको खोटाङबजारका वडाध्यक्ष शिव फुँयालले बताए ।
आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका १० वटा टोल सुधार समितिलाई मेसिन प्रदान गरिएको हो । मेसिनसँगै सय पटक पड्काउन पुग्ने कच्चा पदार्थ पनि दिइएको छ । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले सखाप बनाउँदा जिल्लाका किसान आजित बनिरहेका छन् ।
बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्याउने भन्दै खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी प्रयोग गरेर गत २०७५ साल फागुन ७ गतेदेखि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔं’ अभियान सञ्चालन गरिएको थियो ।