आजदेखि पोखरामा ‘मेयर सम्मेलन’

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा आजदेखि  ‘मेयर सम्मेलन’ शुरु हुने भएको छ । मेयर सम्मेलनमा देशका छवटै महानगरका प्रमुखको सहभागिता रहनेछ ।  

यस्तै, पोखरा महानगरको आयोजनामा हुन लागेको सम्मेलनमा महानगरका उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको समेत सहभागिता रहनेछ।

महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको सो सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिनेछ । 

महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ।

‘गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौती र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ। सम्मेलनले पोखरा घोषणापत्र जारी गर्छ। घोषणापत्र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ,’ पोखरा महानगरपालिकाका प्रमुख धनप्रसाद आचार्यले बताउनुभयो । 

सम्मेलनको कार्यतालिकामा पहिलो दिन पोखरा, काठमाडौँ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ।

त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुति दिनुहुनेछ ।  महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ।

प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’बारे आफ्नो धारणा सुनाउने कार्यसूची छ। सम्मेलनको दोस्रो दिन पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ।

उहाँको प्रस्तुतिपछि सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती’ तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *