विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल हुँदैछ: अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलीरहेको बताउनुभएको छ ।

जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताउनुभयो ।

उहाँले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताउनुभयो । नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उहाँले एक सय २० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो ।

नेपालको शैक्षिक र आर्थिक विकासका लागि पुर्याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद दिनुभयो । दातृ देशका रुपमा जापान नेपालका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।

नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्नो भ्रमण केन्द्रित रहने उहाँले बिश्वास व्यक्त गर्नुभयो । जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष दाहालले स्मरण गर्नुभयो ।

आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने बिश्वास व्यक्त गर्दै उहाँले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us