काठमाडाैं । नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताउनुभएको छ ।
नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताउनुभएको हो ।
ललितपुरको बालकुमारीमा शनिबार (आज) शुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा बोल्दै उहाँले पार्टीको बैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पार्नुभयो ।
नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताउनुभयो । जनताका मुद्धाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उहाँले ती विषयहरुमा गम्भीर छलफल गरी पार्टीको कन्द्रिय समिति बैठकले आवश्यक निर्णय लिने बताउनुभयो।
नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको बैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।