भानुभक्तकाे याेगदानबारे काेलकातामा चर्चा

भारत । नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक स्थापनाका साथै भानुचोक घोषणाको गृहकार्य गरेको छ ।

कोलकातामा लामो समयदेखि बसोबास गर्ने नेपाली भाषा बोल्ने समुदायले आदिकविलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न गरेका प्रयासस्वरुप उक्त कार्य थालिएको हो ।

आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीको अवसरमा नेपाली जनकल्याण समिति (हावडा)को  आयोजनामा हालै सम्पन्न कार्यक्रममा सहभागी हुनुभएका पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले आदिकवि नेपाली भाषाका अगुवा भएको बताउँदै कोलकातास्थित हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई उहाँको स्मृतिमा नामकरण गरिने घोषणा गर्नुभयो। आदिकविले रामायणको अनुवादका माध्यमबाट धार्मिक विषय, तत्कालीन नेपाली समाज चिनाउन भूमिका निर्वाह गरेको बताउँदै उहाँको पूर्णकदको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त सो अवसरमा व्यक्त गरियो।

धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विसं १८७१ असार २९ गते भानुभक्तको जन्म भएको थियो । घाँसीको समाजसेवाको भावनाले कुवा बनाउने कार्ययोजनाबाट प्रभावित भानुलाई सो विषयले आदिकवि बन्न प्रेरित गरेको थियो । घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही नौलो कार्य गर्ने प्रेरणा पाएको भनाइ छ। 

राजा रामको आदर्शलाई जनमानसमा फैलाउने व्यक्ति पनि भाुन नै हुन् । भाषा, साहित्य, संस्कृति, धर्म, दर्शनको राम्रो अध्ययन भएकाले उनले अनुवाद गरेको रामायण अहिलेसम्म पनि नेपाली जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । उनलाई राष्ट्रिय विभूतिको सम्मानसमेत प्रदान गरिएको छ।

नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको बताउँनुभयो। विगत २५ वर्षदेखि आदिकविको स्मरणमा यस क्षेत्रमा भानुको जन्मजयन्ती कार्यक्रम गर्ने गरिएको जानकारी उहाँले दिनुभयो । सो समितिले बिहानी नामक वार्षिक साहित्यिक पत्रिका २३ वर्षदेखि भानुमा समर्पित गरेर प्रकाशन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us