भागवत ढुंगेल, काठमाडौं ।
मेरो बाजेसँग नेताले भोट मागे,
बाजेले भोट दिए, नेताले चोट दिए
बाजे बितेर खरानी भए, नेताले देशलाई खरानी बनाए ।
तिनै नेताले मेरा बासँग पनि मत मागे
बाले मत दिए, नेताले खत दिए
बा अचेल देशको अवस्था देखेर खुइ गर्छन्
नेता सत्तामा बसेर कमिशन खोइ ? गर्छन ।
अब फेरि तिनै नेता
जो,
आफ्नै शरीरको अङ्ग अनुदानमा लाएर बाँचेका छन्
हामीले तिरेको कर सित्तैमा खाएर भोलिलाई साँचेका छन्
सत्तामा हुन्जेल कसले कति खाने भनेर छलफल गर्छन्
अनि सत्तामा नहुँदा खान पाइएन भनेर बैठक बिफल गर्छन्
अब,
फेरि तिनै जिउँदा लाशहरुलाई देश कति जिम्मा दिने?
अनि हामी युवा चाहिँ देश बनेन भन्दै बिदेश उम्किने?
यी बयो वृद्ध बाजेहरुलाई युवाले लत्याउनु पर्छ
दिएनन् भने खोसेर भए पनि सत्ता हत्याउनु पर्छ
समयमै ससम्मान बिधिपूर्वक फालौँ
आफ्नो अमूल्य मत युवालाइ हाल
हामी पनि गर्न सक्छौँ देशको गोठालो
आउ उठ जाग युवा अब हाम्रो पालो !!