काठमाडौं। बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका १८ वटा गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना नजिकै रोकेर राखेका गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार फोहर भरेर गएका १५ वटा टिपर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको छ । गाडीको सिसा फुटाइएको छ । नुवाकोट र धादिङको सीमाना नजिकै पार्किङमा राखिएका ती गाडीमा गएराति तोडफोड भएको हो । गाडी कसले तोडफोड गर्यो भन्ने बारे खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने आफूलाई घटना बारे पूर्ण जानकारी आइनसकेको बताउनुभयो ।
बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले फोहरलाई लिएर राजनीतिक षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । फोहरका कारण स्थानीयबासिन्दा प्रभावित भइरहे पनि उनीहरुको पक्षमा काम हुन नसकेको उहाँको भनाई छ । फोहर बोक्ने गाडीमा तोडफोड भएपछि फोहोर ढुवानी प्रभावित हुने भएको छ ।