काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काईरालाले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचन सम्बन्धी कानूनको संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको हो ।
उहाँले त्यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले लैंगिक समानता र समावेशिताको प्रतिकुल रहेको नेपालका कानूनहरुमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकुल नै कानून परिमार्जन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री शर्माले नेपालको कानूनले समावेशीकरण र समानताको कुरालाई अंगिकार गरेकाले कानूनी व्यवस्थालाई लागू गर्न आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले महिलाहरुलाई समान रुपमा प्रतिनिधित्व गराउनका लागि दलीय संरचनाभित्र सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले सन् २०३० सम्म संघीय संसदमा महिलाहरुको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो । सरकारको लक्ष्य अनुरुप राजनीतिक दलहरुपनि प्रतिवद्ध हुनुपर्ने उहाँको भनाइ छ ।