समान ढंगले सिट बाँडफाँट हुनुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुग्नुभएका नेता खनालले स्थानीय निर्वाचनलाई हेरेर सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको हो ।

नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँड गर्न आवश्यक रहेको बताउनुभयो  ।
गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रूपमा सिट बाँडफाँड गरेर अघि बढ्नुपर्ने खनालको भनाइ थियो ।

गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ । कसैले अपमान फिल गरेमा उ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ, उहाँले भन्नुभयो  ।

त्यस्तै, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनाव अगाडि वाम एकता हुने सम्भावना नरहेको पनि खनालले बताउनु भयो । एमालेले त्यो रुची नदेखाएको भन्दै नेता खनालले बताउनु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत रहे पनि भारतको ३१ सदस्यीय संसदीय टीमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको प्रति सरकारले आवश्यक कदम चाल्नुपर्ने भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us