काठमाडौं । गएराती काठमाडौंमा परेको भारी वर्षापछि खोला र नदीमा आएको बाढीले विभिन्न बस्ती डुबानमा परेका छन्। भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो ।
राती नै बागमती किनारामा रहेको टहराबाट नेपाल प्रहरीले ३ जनाको उद्धार गरिएको छ । बाढीका कारण घरभित्रै अलपत्र परेका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो ।
यस्तै मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकुमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।
काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ । गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । जसको प्रभावले आज विहान पनि पुण्यमती, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च देखिएको छ ।