काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरूलाई नछोड्ने बताएका छन् । एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘म मन्त्री भइसकेपछि तपाईंलाई मन्त्री मैले बनाएको हुँ, फेरि पनि मन्त्री बनाउँछुसम्म भन्न केही मान्छे आएका थिए ।
भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरू राज्य सत्ताको वरिपरि घुमिरहेका छन् ।’ यसअघि शहरको नक्सांकन गर्नेहरूले, ठेकेदारहरूले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश शहर बिग्रिएको बताएका मन्त्री चौधरीले विकासमा जनतालाई जोड्ने मोडेलले मात्र सफलता प्राप्त हुने बताए ।
‘यसअघि उपभोक्तामार्फत् अर्थात् जनतामार्फत् हुने १ करोडमुनिका योजनाहरू रोक्नुभएको थियो । त्यसमा अदालतको समेत स्टेअर्डर आइसकेको छ । मैले तत्काल खोल्न निर्देशन पनि दिइसकेको छु । ठेकेदारमार्फत् जम्मै काम गराउने कुरा उचित छैन । ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्नेदेखि लिएर जम्मै बर्बाद पार्नेसम्म भइरहेको छ ।
ठेकेदारले त योजनालाई दुहुनो गाई पो बनाइरहेका छन्,’ मन्त्री चौधरीले आक्रोश पोखे । आफ्नो कार्यकाल छोटो भए तापनि फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने बताएका मन्त्री चौधरीले काठमाडौंसँग जोडिएका ३ वटा ठूला शहर बनाउने, गैरकानूनी ढंगले बनाइएका भवन हटाउनेदेखि लिएर भूकम्पीय दृष्टिले जोखिमयुक्त अपार्टमेन्टबारे समेत अध्ययन गरिरहेको बताए ।