काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् सात महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको थियो भने गएको एक महिनामै ४ सय केस थपिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण गौतमले सोही अवधिमा ६० जिल्लामा डेंगुका केस भेटिएको बताउँछन् । यसै गरी राजधानीका तीन जिल्लामध्ये ललितपुरमा १३७, काठमाडौँमा ४७ वटा केस देखिएको छ । डा. गौतम भन्छन्, ‘काठमाडौँमा यो वडा यो ठाउँका बिरामीलाई डेंगु भएको भन्ने आधार छैन । अस्पतालमा उपचार गराउन कहाँ कहाँबाट अस्पताल उपचार गराउन आइपुग्छन्, त्यसैको तथ्याङ्क हो ।’ ललितपुर जिल्लामा पहिलो केस असार ९ गते देखिएको थियो । महालक्ष्मीस्थान, थसिखेल, खुमलटारका विभिन्न स्थानमा गरी १३७ जनामा डेंगु देखिएको हो ।
अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो । अहिले भने सात महिनाको अवधिमा झण्डै साढे ७ सय जनामा डेंगु पुष्टि भएको छ ।