काठमाडौं। कृषिउपज भण्डारणका लागि तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । खोडपेमा करिब रु ४५ लाखको लागतमा शीतभण्डार निर्माण गरिएको हो ।
दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न सहज भएको छ । बैतडीको पाटन नगरपालिकाकाको खोडपे आसपासका क्षेत्रमा सबैभन्दा बढी आलु, बन्दा, काउली र गोलभेँडा उत्पादन हुन्छ ।
शीत भण्डारका सञ्चालक ललितमोहन भट्टका अनुसार बैतडीका किसानले उत्पादन गरेको कृषिउपजलाई भण्डारण गर्न सहज होस् भनेर शीत भण्डार निर्माण गरिएको हो । उनले भने, “खोडपे क्षेत्र तरकारीका लागि पकेट क्षेत्र हो तर यहाँका किसानलाई तरकारी भण्डारण गर्न समस्या थियो, भण्डारण गर्न नपाउँदा सस्तैमा बेच्नुपर्ने बाध्यता थियो, अब सजिलैसँग तरकारी भण्डारी गर्न सकिन्छ र मूल्य पाउँदा बिक्री गर्न सहज हुन्छ । ”