म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनोट समिति पनि गठन भएको छ । समितिको संयोजकमा सङ्घका उपाध्यक्ष खड्क केसी र सदस्यमा सङ्घका उपाध्यक्ष राजकुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गङ्गा तिलिजा रहनुभएको छ ।
जिल्ला छनोट प्रतियोगितालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमितिसमेत गठन गरिएको छ । उपसमितिका संयोजकमा अशोक शाही र सदस्यमा रामबहादुर गुरुङ, अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेका सङ्घले जनाएको छ ।
जिल्लामा विभिन्न सङ्घसंस्था तथा क्लबले भलिबल प्रतियोगिता सञ्चालन गर्न अनिवार्यरूपमा सङ्घको कार्यालयमा सम्पर्क तथा समन्वय गर्न आह्वान गरेको छ । साथै रेफ्री, अफिसियल शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगितालाई थप व्यवस्थित र नीति–नियममा रहेर सञ्चालन गर्न सुझावस्वरुप पत्रचार गर्ने निर्णय गरिएको सङ्घका महासचिव किसानले बताउनुभयो ।
सदरमुकाम बेनीमा भलिबल सङ्घको आफ्नै कोर्ट नभएको, विगतदेखि हालसम्म खेलमैदानको अभावमा तालिम वा खेल सञ्चालन गर्न निजी विद्यालयको खेलमैदान प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । खुलामञ्चबाहेक अरु विकल्प नरहेको परिस्थितिमा तत्कालका लागि अस्थायीरूपमा भए पनि कुनै व्यक्तिको जग्गा भाडामा लिएर खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको सङ्घले यस कार्यमा आवश्यक सहयोगका लागि सबै पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई म्याग्दीमा सञ्चालन गर्नका लागि पहल गरिरहेको सङ्घले खेलतालिका जिल्लामा परेको खण्डमा उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्ने बताएको छ ।