काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै खनालले अन्य विधेयक जस्तो बहुमत भयो पास गर्दियो जस्तो गर्न नमिल्नेु तर्क गरे । ‘नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ,’ उनले भने, ‘नेपाल जस्तो देशका लागि जनसांख्यिक अतिक्रमणबाट जोगिनु पर्छ ।’
उनले राष्ट्रपतिले किन संसदमा फर्काएको भन्ने आफूले अध्ययन नगरे पनि दिर्घकालीन सोच राखेर यस्तो विषयमा अघि बढ्नुपर्ने तर्क गरे ।
खनालले ५ दलीय गठबन्धन कायम रहने बताउँदै इलाम १ बाट पुन प्रतिनिधिसभाका लागि चुनाव लड्ने संकेत गरे । उपचारपछि आफूमा नयाँ जोश र जाँगर आएको बताउँदै अबको समय पनि सक्रिय राजनीतिमा व्यतित गर्ने उनको भनाइ थियो । वाम गठबन्धनको सधैं सम्भावना रहेपनि यो पटक एकता गर्ने पक्षमा कुनै पनि प्रमुख वाम दलका नेताहरु नरहेको उनको भनाइ थियो ।