निहारिका राजपुतले बलात्कारको आरोप लगाएका व्यक्ति पक्राउ

काठमाडौं । निहारिका राजपुतले आफूमाथि बलात्कारको आरोप लगाएका व्यक्ति शिवराज श्रेष्ठ पक्राउ परेका छन्। मंगलबार प्रहरीले शिवराज श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्‍ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए। शिवराजमाथि निहारिका नाबालिग हुँदा बलात्कार गरेको र उक्त करणीबाट बच्चा जन्मिएको आरोप छ। त्यही मुद्दामा प्रहरीले‍ धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो।

निहारिकाले आफ्नो बच्चा र बलात्कार आरोपित श्रेष्ठको डिएनए गर्नुपर्ने माग गर्दै आएकी छन्। उनले माइतीघर मण्डलदेखि बसन्तपुरसम्म धर्ना दिँदै आएकी छन्। उनले गत शुक्रबार राष्ट्रपति भवनअगाडि पेट्रोल छर्केर आत्महत्याको प्रयास समेत गरेकी थिइन्। यस मुद्दामा शिवराज श्रेष्ठको पक्षमा फैसला गर्ने न्यायाधीश पर्शुराम भट्टराईमाथि न्याय परिषदले छानबिन गरिरहेको छ। उनलाई सर्वोच्च अदालतले काजमा तानेको छ।

निहारिकाले आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै न्यायका निम्ति अनसन बस्दै आएकी छन्। यसअघि उनले गत जेठ १७ गतेदेखि लगातार अनसन बस्दै आएकी थिइन्। त्यसपछि गत असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us