काठमाडौं । शहरी विकास मन्त्री मेटमणी चौधरी गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले कार्यकर्ताको कुटाईबाट मृत्यु भएका मोहम्मद अरमान खाँको घरमा सान्त्वना दिन पुगेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १० खैरा गाउँका मोहम्मद अरमान खाँको एक हप्ता पहिला उपचारको क्रममा निधन भएको थियो । उनी नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ता थिए ।
खाँको निधन पछि शोकाकुल बनेको घरपरिवारलाई सान्त्वना दिन मन्त्री चौधरी मंगलबार उनको घरमा पुगेका हुन् । खाँको घरमा पुगेका चौधरीले दोषिमाथि कानुनी कारबाही हुने र मृतक परिवारजन प्रति समवेदना प्रकट गरेका थिए ।
साथै मन्त्री चौधरीले खाँका एक जना छोरालाई जागीरको प्रबन्ध मिलाइदिने प्रतिवद्धता जनाएको एकीकृत समाजवादीका कृष्णनगर नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँले बताए ।
आर्थिक रुपले विपन्न खाँलाई बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमाले कार्यकर्ताले निर्घात रुपमा कुटपिट गरी हत्या गरेका थिए । खाँ स्थानीय तहको चुनावमा एकीकृत समाजवादीबाट पार्टी प्रतिनिधि थिए । एमाले कार्यकर्ताले भोटिङ कार्ड बिना नै मतदान गर्न मतदानस्थलमा आफ्ना मान्छे प्रवेश गराए पछि खाँले उक्त क्रियाकलाप आफ्नो मोबाइलबाट खिचेका थिए ।
उक्त भिडिओको विषयलाई लिएर दुबै पक्ष बीच झगडा हुँदा घटनाले हिंसाको रुप लिएको थियो । १० जना एमाले कार्यकर्ताले खाँलाई घटना घट्ने दिन राति घरमा पुगेर निर्घात कुटपिट गरेका थिए ।
मृतकको खाँको परिवारलाई सान्त्वना दिन मन्त्री चौधरीसंगै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंक बहादुर हमाल, लुम्बिनी प्रदेश कमिटी सदस्य जिवलाल पौडेल, सचिव ओमप्रकाश कुर्मी लगायत पुगेका थिए ।