५३ करोड लगानीमा ललितपुर महानगरले नयाँ भवन बनाउने

काठमाडौं । ललितपुर महानगरपालिकाले सात तल्ले प्रशासनिक भवन निर्माण गर्ने भएको छ । पुल्चोकस्थित महानगरको हालको भवनभन्दा दक्षिण पश्चिम भागमा निर्माण हुने नयाँ प्रशासनिक भवनको शिलान्यास बुधबार नगरप्रमुख चिरीबाबु महर्जनले गरेका छन् ।

संघीयता लागू भएपछि स्थानीय तहको क्षेत्राधिकार पनि फराकिलो बन्दा कर्मचारीको संख्या वृद्धि भएकाले हालको भवन साँघुरो भएको उनको भनाइ थियो । उनले भने, ‘यो भवन बनेपछि सरसफाइबाहेक सम्पूर्ण सेवा एउटै छानामुनिबाट दिन सकिन्छ, त्यसो हुँदा काम छिटो छरितो समेत हुन्छ । ’

बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने उक्त भवन ३० महिनामा निर्माण सम्पन्न हुनेछ । महानगरप्रमुख महर्जनले महानगरको प्रशासनिक भवन निर्माणको सुरुवात यो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए । नयाँ बन्ने भवन अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी बनाउन उनले निर्देशन दिए ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगरको प्रशासनिक भवन निर्माणकोे प्रक्रिया निर्विवाद रहेको दाबी गरे । शहरी विकास योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले भवन निर्माणको लागि करीब ५३ करोड लागत अनुमान गरिएको बताए । उनका अनुसार नयाँ भवनको क्षेत्रफल ५० हजार वर्गफिट रहेको छ । भवन निर्माणको जिम्मा नवसिर्जनशील कन्स्ट्रक्सन कम्पनी प्रालिलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us