काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीलाई स्थानीयले अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण केही गाडी सिसडोल र केही त्योभन्दा तल बाटोमै रोकिएका छन् ।
स्थानीयबासिन्दाले दुई दिनदेखि अवरोध गर्दै आएका छन् । त्यसैले आज सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्याइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्याइनेछ ।
हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका थिए । सडक मर्मतको काम पूरा नगरी फोहर लैजान थालिएको र फोहर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयबासिन्दाले आन्दोलन गरेका हुन् ।
यसअघि लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो।
स्थानीयबासिन्दाको अवरोधकै बीच हिजो काठमाडौं महानगरपालिकाले १ सय ९० वटा गाडीलाई बञ्चेडाँडा पुर्याएको थियो ।