अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

शुक्रवार काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रश्ताव पास गरेको छ ।

वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिको लागि विशेष प्रश्ताव पेस गर्नुभयो ।

उहाँले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको बताउनुभयो ।

निर्देशक घिसिङले रोल्वालिङ ड्राइभर्सन,रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालिन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताउनुभयो ।

उहाँले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य रहेको बताउनुभयो । उहाँले त्यसको लागि पनि तामाकोशी जलविद्युत सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको बताउनुभयो ।

उहाँले रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोशी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गरी विस्तृत अध्ययन गर्ने बताउनुभयो । उहाँले उक्त आयोजना साढे चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । अहिले अपर तामाकोशीको शेयर मूल्य ५ सय भन्दा कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *